नमोबुद्ध नगरपालिकाद्वारा संंस्था दर्ता सम्बन्धि विधेयक पारित

काभ्रे : जिल्लाको नमोबसद्ध नगरपालिकाले संंस्था दर्ता सम्बन्धि विधेयक पारित गरेको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा बुधबार बसेको एघारौं नगरसभाको दोस्रो बैठकले संंस्था दर्ता सम्बन्धमा बनेको विधेयक पारित गरेको हो ।

नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पेश गरेका थिए । नगरसभाको बैठकले सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो ।

यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पनि नगरसभाको बैठकले पारित गरेको छ । संघ संस्था सम्बन्धि विधेयक र विनियोजन विधेयक संशोधन प्रस्ताव गत पुस २९ गते बसेको एघारौं नगरसभाको पहिलो बैठकमा पेश गरिएको थियो ।

नमोबुद्ध नगरपालिकाले एघारौं नगरसभा सम्पन्न गरिसक्दा ७० वटा ऐन नियम बनाइसकेको छ । पाँच वर्षे कार्यकालको अन्तिम चरणमा एघारौं नगरसभासम्म आइपुग्दा जनप्रतिनिधिहरुबीच सहमति र सहकार्यमै नगर विकासको कार्य गर्नुका साथै आवश्यक ऐन नियम, निर्देशिका र कार्यविधिहरु तयार पारेर कार्यान्वयन गरिएको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताए ।

नगरसभाको बैठकमा नगरसभाका सदस्यसचिव एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण पेश गरेका थिए । जसअनुसार नमोबुद्ध नगरपालिकामा चालु आर्थिक वर्षका लागि ७२ करोड ६६ लाख ९२ हजार ६ सय ६१ रुपैयाँ विनियोजन भएकोमा २५.४५ प्रतिशत अर्थात १८ करोड ५० लाख ८ हजार ५ सय १ रुपैयाँ खर्च भएको छ ।

नगरपालिकाबाट यो वर्षका लागि १ सय ४३ वटा योजना छुट्याइएकोमा अधिकांश योजनाको काम सुरु भइसकेको पौडेलले जानकारी दिए । काम सम्पन्न भएपछिमात्रै ती योजनाको रकम भुक्तानी हुने भएकाले वित्तीय प्रगति कम देखिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस