
उपत्यकाबाट हराएका २८ वटा सवारी साधनहरु ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाए

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।
उनका अनुसार मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सूचना संकलन भइरहेको छ । मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको उनले बताए ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।