जयविष्णुलाई नेपाल प्रहरीको ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं : अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) थापा क्षेत्रीले नेपालीलाई सो पुरस्कारसहित सम्मान गरेका हुन् ।

नेपाली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा अपराध अनुसन्धान विद्यालयमा लामो समय कार्यरत थिए । उनले त्यहाँ कार्यरत हुँदा घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी गर्नुको साथै नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा साइबर युगलाई अभ्यास गर्ने गरी अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताए । नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्ने उल्लेख गरे । प्रहरीले सर्वसाधरणलाई गर्नुपर्ने व्यवहारलाई मानवोचित बनाउन प्रशिक्षणका दौरान मानवोचित धर्म र कर्मलाई कसरी अक्षुण राख्ने भनि प्रशिक्षण दिनुपर्ने उनले उल्लेख गरे ।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन व्यक्त गर्दै वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतू प्रतिष्ठानले यस आर्थिक वर्षदेखि नेपाल प्रहरीको तालिम क्यालेण्डरमा नै राखी अनलाईन तालिमहरू सञ्चालन गरेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस