भालुको पित्त र यार्सागुम्बासहित कैलालीका एक पुरुष पक्राउ
आइतबार, फाल्गुण ०८, २०७८ | १०:४३:०९
कञ्चनपुर : भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला कन्काइसुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ५७ वर्षीय बृख कामी रहेका छन् ।
कामीलाई प्रहरीले कृष्णपुर नगरपालिका-१ वनदेवी मन्दिरबाट शनिबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ९२ ग्राम भालुको पित्त र ५२४ ग्राम यार्सागुम्बा बरामद गरेको छ । यति मात्र नभई उनको डेराबाट प्रहरीले ५०० ग्राम यार्सागुम्बा पनि फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।