काठमाडौं : आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडासँग सामना गर्नेछ । नेपाल र क्यानाडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
नेपालसहित आयोजक ओमान, फिलिपिन्स र क्यानाडा रहेको ग्रुप वानबाट दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । छनोट अन्तर्गत नेपालले अघिल्ला दुबै खेल जितिसकेको छ । क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।
तर नेपालले क्यानाडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ । अर्कोतर्फ ओमानले फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानाडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानाडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ ।
यस समूहमा नेपालले अघिल्ला दुबै खेल जितिसकेको छ भने समान दुई खेल खेलेका क्यानाडा र ओमानले एक–एक खेल जितेका छन् । नेपालमाथि क्यानाडा र फिलिपिन्समाथि ओमानको जित भए नेपाल, क्यानाडा र ओमानको समान दुई–दुई जित हुनेछ । अंक बराबर भएपछि नेट रनरेटको भर पर्नुपर्नेछ ।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ३९ तथा फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । क्यानाडाले भने पहिलो खेलमा फिलिपिन्सलाई १ सय १८ रनले पराजित गरेपनि दोस्रो खेलमा ओमानविरुद्ध ९ विकेटको पराजय भोगेको थियो ।



















