आइतबार, बैशाख ०६, २०८३
ज्याम्दीमा नव निर्मित सहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

काभ्रे : मण्डनदेउपुर नगरपालिकाको वडा नं. १२ स्थित ज्याम्दीमा नव निर्मित सहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले आज केन्द्रेको उद्घाटन गरेका हुन् ।

नेपाल सरकारको नीति अनुसार हरेक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रावधान भए पनि भौगोलिक अवस्था हेरी स्थानीय सरकारले थप सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन पाउने भएसँगै भेगीय आवश्यकता हेरी नगरको वडा नं. १२ स्थित देउरालीमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताउँदै नगर प्रमुख वाइबाले  मण्डनदेउपुर नगरबासीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा कुनै सम्झौता नगर्ने बताए ।

नगरपालिकाले जनस्वास्थ्यलाई थप सबलीकरण गर्न नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ३५ थरी औषधीका अलावा नगरपालिकाले थप औषधि खरिद गरेर वितरण गरेकाले सो लाभ लिन वडाबासीहरुलाई आग्रह गरे । कोरोना भाइरस सुरु हुँदादेखि होस वा अन्य अवस्थामा नगरवासीलार्ई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन नगरपालिका हरदम लागि पर्ने बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले नगरपालिकाको वडा नम्बर १, ४, ६ र ९ आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । साथै उनले भौगोलिक दुरी र जनघनत्वका हिसाबमा वडा नं. १२ को देउराली, १० को चण्डेनी र वडा नं. २ को नगरकोटमा सहरी स्वास्थ्य केन्द्र्र सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको पनि बताए । नगरपालिकाको आधारभूत अस्पताल यसै महिनाभित्र सञ्चालनमा आउने गरी निर्माण सम्पन्न भएको पनि उनले जानकारी दिँदै नगरवासीको स्वास्थ्य सेवामा आफू र मातहतका साथीहरु लागि परेको बताए ।

कार्यक्रमको सभापतित्व गर्दै वडा अध्यक्ष गोविन्द पराजुलीले आफ्नो वडा भित्र स्वास्थ्य सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई सेवा लिन आग्रह गरे। चुनावमा आफूहरुले गरेको बाचा अनुसारका कामहरु भइरहेको बताउँदै जनताकै घरदैलोमा सेवा विस्तारको कार्यमा आफू प्रतिवद्ध रहेको बताए ।  उक्त स्वास्थ्य सेवा केन्द्रबाट बिरामी जाँच, गर्भवती जाँच, पोषण सेवा, परिवार नियोजन सेवा लगायत स्वास्थ्यका आधारभूत सेवाहरु प्रदान गरिने अ.न.मि. शान्ति दनुवारले बताइन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय