मेयर कप महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित
काठमाडौं : मेयर कप महिला क्रिकेटमा विभागीय टोली एपीएफ क्लब लगातार तीन खेल जित्न सफल भएको छ । कीर्तिपुर मैदानमा शुक्रबार भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो । एपीएफले यसअघि प्रदेश १ र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।
एपीएफले लिग चरणको अन्तिम खेल आइतबार लुम्बिनी प्रदेशसंग खेल्नेछ । लगातार तीन हारपछि ललितपुर भने फाइनल होडबाट बाहिरिएको छ । ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेपछि ललितपुर मेयर ११ ले दिएको ८० रनको लक्ष्य एपीएफले १३ ओभर खेल्दै ३ विकेट गुमाउँदै पूरा गरेको हो ।
ललितपुरका लागि सुमन खतिवडाले ३५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाइन् । उनलाई एपीएफकी सुमन विष्टले कट एण्ड बोल्ड गरिन् । आरती विडारीले अविजित २१ रन जोडिन् । कप्तान सरस्वती कुमारी ९ रनमा अविजित रहिन् । ललितपुर मेयर ११ का सुरुवाती तीन ब्याटर हेलिशा गुरुङ, कन्चन श्रेष्ठ र अनुराधा चौधरी रनआउट भए । बलिङमा एपीएफका लागि सुमन विष्ट र करुणा भण्डारीले १-१ विकेट लिए । दुवैले ४ ओभरमा समान १७ रन खर्चेका थिए ।