नगरपालिका राजश्व संकलन गर्ने, प्रशासन सरसफाई गर्ने
काभ्रे : आफ्नो नगर क्षेत्र सरसफाईको लागि काभ्रेको बनेपा नगरपालिकालाई साइत जुराउनुपर्छ । कुनै दिवस अथवा विशेष कार्यक्रमको मौका पारेर मात्रै नगरपालिकाले सरसफाईका कामलाई प्राथमिकता दिने गर्छ । त्यस्तै नेपाली सेना दिवसको अवसरमा काभ्रेको बनेपामा आज सरसफाई कार्यक्रम भएको छ ।
सेना दिवसको अवसरमा आज बिहान अरनिको राजमार्ग अन्तर्गत बनेपाको चारदोबाटोदेखी पुल बजारसम्म सरसफाई गरिएको थियो । सरसफाई गर्न हातमा कुचो लिएर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे, उप–प्रमुख रेखा दाहाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नगरपालिकाका कर्मचारी सडकमा पुगेका थिए ।
नगरपालिकाले सरसफाई शिर्षकमा हरेक वर्ष नगरबासीबाट राजश्व संकलन गर्दै आएको छ । कुनै दिवस र विशेष कार्यक्रमको साइत जुराएर झाँडु र कुचो बोकेर प्रशासन सडक सरसफाई गर्न पुग्ने गर्छ । यस अघि प्रजातन्त्र दिवसमा पनि प्रशासनको टोलीले बनेपाको चण्डेश्वरी मन्दिरको सरसफाई गरेको थियो ।