खेलकुद मन्त्री गहतराजद्वारा काभ्रेको चौंरीदेउराली मादनकुँडारीमा सहिद पार्कको उद्घाटन
काभ्रे : काभ्रेको चौरीदेराली गाउँपालिका वडा नं ७ स्थित मादनकुँडारीमा सहिद पार्कको उद्घाटन गरिएको छ । आज ( बुधवार) एक कार्यक्रमका बीच संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सहिद पार्कको उद्घाटन गरेका हुन् ।
सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रमले देशमा भएको राजनितिक परिर्वतनका लागि सहिदहरुले दिएको योगदनको स्मरण गराएको मन्त्री गहतराजले बताए । उनका अनुसार उनीहरुको बलिदानले नै देशमा ठूलो परिर्वतन आएको हो ।
‘आजको यो व्यवस्था सजिलै आएको व्यवस्था होइन,’ उनले भने, ‘कुनै उखान टुक्का हालेर, भाषण गरेर आएको व्यवस्था होइन, जनताले आफूलाई बलिदान दिएर आएको व्यवस्था हो । उनीहरुले आफ्नो मूल्यवान समय खर्चेर देशको लागि बलिदान दिएर आएको व्यवस्था हो ।’ चौंरीदेउराली गाउँपालिकाले सहिदहरुको सम्झनाको लागि गरेको यो कार्यले उनीहरुको देशको लागि गरेको योगदानको स्मरण गराएको मन्त्री गहतराजले बताए ।
गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । उनका अनुसार जनयुद्धका बेला सहिद तथा बेपत्ता भएका १० जनाको अर्धकदको सालिकको निर्माण गरेको हो । उक्त पार्क जनयुद्ध र जनआन्दोलनमा पालिकाभरका ३५ जना सहिद तथा बेपत्ता परिवार रहेका छन् ।
जनयुद्ध र जनआन्दोलनमा ज्यान अर्पण गर्ने सहिदको सालिक बनाईएको अध्यक्ष गौतमले जानकारी दिए । त्यस्तै पालिकाले चालु आर्थिक वर्षदेखि सहिद तथा बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता उपलब्ध गराउने निर्णयको कार्यान्वयन आजबाटै सुरु भएको छ ।