
काभ्रे : एमाले प्रवृत्तिले देश समृद्ध नहुने संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताएका छन् । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं ७ स्थित मादनकुँडारीमा बुधबार आयोजित सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई सम्मान तथा नवनिर्मित सहिद शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले एमाले प्रवृत्तिले देश सम्बृद्ध नहुने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको नाममा जुन प्रतिगमनको खेल खेल्न थालिएको त्यसलाई माओवादीकै कारण ‘व्याख्यात्मक टिप्पणी’ले निष्तेज पारिदिएको मन्त्री गहतराजले दाबी गरे । अब अमेरिकाले नेपालको संसदबाट पारिएको ‘व्याख्यात्मक टिप्पणी’ नमाने स्वतः खारेज हुने मन्त्री गहतराजको भनाई थियो । ‘केही व्यक्तिको एमसीसीको नाममा अहिलेको सिस्टममाथि आक्रमण गर्ने उद्देश्य थियो,’ मन्त्री गहतराजले भने, ‘त्यो माओवादीकै कारण निष्तेज भयो । अहिले हामी केही कमजोर भैयो भन्ने लाग्छ । हामी कमजोर हुनुभनेको हामीले ल्याएको ब्यवस्था नै नरहनु हो ।’
सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रमले देशमा भएको राजनितिक परिर्वतनका लागि सहिदहरुले दिएको योगदनको स्मरण गराएको उनले बताए । उनका अनुसार उनीहरुको बलिदानले नै देशमा ठूलो परिर्वतन आएको हो । जसका लागि काभ्रेका झण्डै २ सय ३८ जना र एउटै एउटै गाउँपालिकाबाट ३८ जना सहिदले बलिदान गरेका थिए ।
‘आजको यो व्यवस्था सजिलै आएको व्यवस्था होइन,’ उनले भने, ‘कुनै उखान टुक्का हालेर, भाषण गरेर आएको व्यवस्था होइन, जनताले आफूलाई बलिदान दिएर आएको व्यवस्था हो । उनीहरुले आफ्नो मूल्यवान समय खर्चेर देशको लागि बलिदान दिएर आएको व्यवस्था हो ।’ चौंरीदेउराली गाउँपालिकाले सहिदहरुको सम्झनाको लागि गरेको यो कार्यले उनीहरुको देशको लागि गरेको योगदानको स्मरण गराएको मन्त्री गहतराजले बताए । सहिदहरुले दिएको बलिदानको सम्झानाको लागि गरिएको उक्त कार्य हेर्नका सबै दलका नेताहरुलाई निमन्त्रणा गर्न उनले आग्रह गरे । झुटको खेती गनेहरुलाई यो यथार्थ देखाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सहिद र बेपत्त पारिएका परिवारको अवस्था जहाँको त्यहीँ भएको बागतमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सहिद र बेपत्त पारिएका परिवारको अवस्था जहाँको त्यहीँ भएको बताएका हुन् । देशमा भएका राजनितिक परिर्वतनहरुले सहिद तथा बेपत्ता परिएका परिवार तथा सदस्यहरुलाई छुन सकेका छैनन् । ती परिवर्तनले उनीहरुलाई विकास र सम्बृद्धतर्फ डोहोर्याउन नसकेको उनले बताए । देशमा भएका अस्थायी राजनितिक परिर्वतनले उनीहरुको जिवन स्तर सुधार्न नसकेको मन्त्री ढकालको भनाइ थियो ।
‘देशमा पटक पटक राजनितिक परिर्वतनहरु भएका छन् । राजनितिक उपलब्धि हासिल गर्नको निम्ति सहिदहरुको ठूलो योगदान रहेको छ,’ मन्त्रि ढकालले भने, ‘देशको लागि बलिदान गर्ने महान सहिदको परिवारहरु, सहिद परिवारका आफन्तजनहरु र बेपत्ता परिवारका आफन्तजनहरुलाई चौैैंरीदेउरालीले गरेको सम्मान कार्यक्रमले सहिद भएका तथा बेपत्ता भएकाहरुको पनि स्मरण गराएको छ ।’ सहिदहरु प्रति श्रद्धान्जली व्यक्त गर्ने गाउँपालिकाले जुन प्रकारको ऐतिहासिक काम गरेकोमा मन्त्रि ढकालले धन्यवाद व्यक्त गरे ।
काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १का गंगा बहादुर तामाङ, पूर्वराज्यमन्त्री एवं संविधान सभा सदस्य सूर्यमान दोङ, संविधान सभा सदस्य तेज बहादुर मिजार, गाउँपालिका अध्यक्ष दिननाथ गौतम लगायतले देशको परिर्वतनका लागि सहिदहरुले दिएको योगदानको बारेमा आफ्नो विचार राखेका थिए ।