‘राष्ट्र र जनताको हित हुने गरी काम गर्न आवश्यक’ : पूर्व महामन्त्री सिंह

काभ्रे : राष्ट्र र जनताको हित हुने गरी काम गर्न आवश्यक रहेको नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
काभ्रेको धुलिखेलमा बिहीबार आयोजित नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै पूर्व महामन्त्री सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने बताएका हुन् ।
विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताउँदै नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।
निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको नेता सिंहले बताए ।