पल शाहलाई थप १२ दिन थुनामा राखिने
आइतबार, फाल्गुण २२, २०७८ | १५:५७:११
काठमाडौं : अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने भएको छ । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता शाह थप १२ दिन हिरासतमा रहने भएका हुन् ।
अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।
म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए ।