गुणस्तरीय तामाङ चलचित्र निर्माण सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

काभ्रे : तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र निर्माण सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्व र रोशी गाउँपालिकाको अध्यक्ष डि.बि लामाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तामाङ चलचित्र जगत्मा अतुलनिय योगदान पुर्‍याएका स्वर्गीय कलाकार जयनन्द लामालाई स्मरण गर्दै आगामी दिनमा संघले अवार्डको नाम स्थापित गरी जयनन्द अवार्डबाट सम्मानित गर्न योजना रहेको कार्यक्रमका सभापति कुमार मोक्तानले बताए । चलचित्र जगत्को कलाकार र कलाकारको कलालाई जिवन्त राख्न संघले यो योजना राखेको उनले जानकारी दिए ।

कला विनाको समाज अधुरो रहेको बताउदैँ कार्यक्रमका प्रमुख अतिथि डि.बि लामाले भने, ‘कला र कलाकारहरुको सम्मान गर्न आवश्यक रहेको छ । समाजमा रहेका विकृति, विसंगति हटाइ सचेत र समृद्ध समाजको निर्माणका निम्ति कला क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको छ ।’ उनका अनुसार कलाकारिता जति महत्वपूर्ण छ त्यतिकै मात्रामा अनुशासित हुन जरुरी छ । संस्थाले कुशल, असल कलाकार स्थापित गर्न र जातिको मौलिकता जगेर्ना गर्ने प्रमुख दायित्व रहेको उनले बताए।

तामाङ चलचित्र संघ नेपालको आयोजना, चलचित्र विकास वोर्डको सह आयोजनामा तीन दिने गोष्ठीमा कला क्षेत्रमा आवद्ध कलाकारहरुलाई क्यामेरा, मेकअप र लाइट सम्बन्धी तालिम प्रदान गरिएको र आज समापन शत्रमा प्रमाण पत्र वितरण गरिएको संघका महासचिव सुनिता लुङ्वाले जानकारी दिइन्।

कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङ संघको महासचिव प्रवीण बल, प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, वरिष्ठ कलाकार तथा नायक अमृत लामा, राष्ट्रिय संगीत कर्मी संघको अध्यक्ष विक्रम शाही लगायतका थुप्रै कलाकारहरुको उपस्थिति र वेजोड प्रस्तुती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस