काभ्रे : अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा महिला सशक्तिकरण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘सामाजिक न्याय र समानता : दिगो विकास र सुनिश्चतता’ भन्ने मूल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय महिला दिवस मनााइदैँ छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले महिला दिवसको पूर्व सन्ध्यामा आज महिला सशक्तिकरण विषयक अन्तर्क्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महिलालाई एक दिनका लागि मात्र विशेष नबनाएर, हरेक दिन विशेष बनाउने अभ्यास गर्नुपर्ने बताइन् । उनले यस दिवसलाई महिलाको सम्मान र पहिचानको पर्वको रुपमा मनाउन आग्रह गरिन् ।
महिला सशक्तिकरणका विषयमा बोल्दै प्रम्ुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘समतामूलक समाज निर्माण नभएसम्म समाजमा विभेदीकरण भइरहनेछ । समतामूलक समाज निर्माणका लागि हाम्रो सोचलाई परिवर्तन गर्नुपर्छ । जबसम्म हामीले हाम्रो सोचलाई परिवर्तन गर्न सक्दैनौँ, तबसम्म समाजमा समनता निर्माण गर्न सकिदैँन ।’
बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा दाहाल, धुलिखेल नगरपालिकाकी उप–प्रमुख बिमला चौँलागाई शर्मा, नमोबुद्ध नगरपालिकाकी उप–प्रमुख रामदेवि तामाङ, रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेती र बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष सरिता लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष सरिता लामिछानेले महिला सशक्तिकरणका लागि सबैभन्दा पहिले हाम्रो सोच परिवर्तन गर्न आवश्यक रहेको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिकाकी उपाध्याक्ष लक्ष्मी बर्तौलाले महिलाप्रतिको सकारात्मक सोचले नै समाजको विकास हुने बताइन् ।
त्यस्तै नमोबुद्ध नगरपालिकाकी उप–प्रमुख रामदेवि तामाङले महिला अघि बढ्नको लागि आर्थिक सशक्तिकरण गर्न आवश्यक रहेको बताइन् । धुलिखेल नगरपालिकाकी उप–प्रमुख बिमला चौँलागाई शर्माले राजनितिक परिवर्तनले गर्दा महिला नेत्तृत्वमा बृद्धि भएको बताइन् । त्यस्तै बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा सापकोटाले समाज परिवर्तनका लागि महिला र पुरुषको समान सहभनगीता हुनुपर्ने बताइन् ।
कार्यक्रमलाई सम्बोधनलाई गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लामा महिला हिंसाका घटनामा बृद्धि भएको बताए । उनका अनुसार समुदाय –प्रहरी साझेदारी कार्यक्रमले गर्दा महिलामाथि हुने हिंसाका घटना बाहिर आउन थालेका महिला हिंसाका घटनामा बृद्धि भएको हो । अझै पनि ग्रामिण भेगमा घटनाहरु बाहिर आउन नसकेको उनले बताए । महिला हिंसाका घटनालाई न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्न आवश्यक रहेको प्रहरी उपरीक्षक जोशी बताउँछन् ।
महिला सशक्तिकरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले महिलाका समस्या र चुनौतीको विषयमा प्रस्तुतीकरण दिएका थिए । त्यस्तै क्षेत्रिय होटल एशोसिएसन काभ्रेकी सचिव ज्योत्सना सैँजुले उद्यमशीलता क्षेत्रमा महिलाको अवस्था, सिविक फोरम काभ्रेका प्रमुख कार्यकारी अधिकृत वैदेशिक रोजगार र महिला कामदारको बारेमा र घरेलु महिला उद्यमीहरुको अवस्थाको बारेमा घरेलु तथा साना उद्योग महासंघ काभ्रेकी अध्यक्ष सुबासना श्रेष्ठले प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा विभिन्न सहकारी कार्यालयका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, उद्यमी, सौन्दर्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।























