एकैदिन २५ सय रुपैँयाले बढ्यो सुनको मूल्य : हालसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य एकैदिन २५ सय रुपैँयाले बढेको छ ।
२५ सय रुपैँयाले बढेर छापावाल सुनको मूलय प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको छ ।
यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।
युरोएसियाली मुलुक रुस र युक्रेन आपसमा सैन्य भिडन्तमा लाग्दा विश्व बजारमा सुन, पेट्रोल, डिजेल, एलपी ग्यास, खानेतेल लगायत सबैजसो प्रमुख कमोडिटी वस्तुको मूल्य आकासिएको छ ।