चालक पक्राउको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध

दाङ : चालक पक्राउको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । गएराति पौने ९ बजे लमही नगरपालिका– ३ वनगाउँमा कार र बुलेट मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका –१ भालुवाङ निवासी ३५ वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो।

फरार कार चालकलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले राप्ती गाउँपालिका – १ पुल्चोक भालुवाङ बजार र पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । भालुवाङ बजार बन्द गराउनुको साथै राप्ती पुल र भालुवाङ–प्यूठान सडक खण्डको इच्छुक चोकमा राजमार्गसमेत बन्द गरी आन्दोलन थालेका छन्।

फरार कार चालकलाई सम्बन्धित गाडी धनीले लुकाएर राखेको र प्रहरीले पक्राउ गर्न खासै चासो नदिएको स्थानीयले आरोप लगाएका छन्। लमहीदेखि भालुवाङतर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकल र भालुवाङदेखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका -३ वनगाउँमा ठोक्किँदा मोटरसाइकल चालक जिसी गम्भीर घाइते भएका थिए। घाइते जिसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु थियो।

मृतकको शव अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ। यता प्रहरीले भने फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस