चौंरीदेउरालीका युवा कृषिमा आकर्षित : निर्माण व्यवसाय छाडेर कृषि कर्ममा
काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाका युवाहरुले गाउँमा नै फलफूल र पक्षीपालन गरेर राम्रो आम्दानी गर्दै आएका छन्। चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिकरूपमा पक्षी र फलफूलखेती सुरु गरेका हुन् ।
कृषि पेशामा राम्रो भविष्य देखेको कारण सहरमा गरिरहेको व्यवसाय छाडेर गाउँ फर्की कृषि फार्म सञ्चालन गरेको लामाले बताउए । यसअघि निर्माण व्यवसायमा सक्रिय लामा अहिले पक्षीपालन र फलफूल खेतीमा व्यस्त भएका छन् । उनले गाउँमा विभिन्न जातका पक्षीदेखि त्यहीअनुसारको फलफूल खेती गरिरहेका छन् । एकल व्यवसाय सञ्चालन गर्दै आएका उनले कृषि क्षेत्रमा लगानी गरे अनुसार जोखिम मोल्न नपर्ने र मेहेनत अनुसारको कमाइ हुने भएका कारण गाउँमा फर्केर कृषितर्फ केन्द्रित भएको उनले बताए ।
अहिले उनी बिहानदेखि बेुलकासम्म आफ्नै कृषि फार्ममा व्यस्त हुन्छन् । उनको फार्ममा पंक्षीमा लोकल कुखुरा, लौकाट, टर्की र कालिज छन् भने फलफूलमा बुद्धचित्त माला, कागती, एभोकाडो, अनार, आँप र अम्बा रहेको छ । फलफूलको बिरुवा र पक्षीपालन गरी रु ३५ लाख लगानीमा सुरु गरेको व्यवसाय अब बजारको मागअनुसार बढाउँदै लैजाने उनले बताए ।
पचहत्तर रोपनी आफ्नै जग्गा र त्यसबाहेक ३५ रोपनी जग्गा भाडामा लिएर ११० रोपनी जग्गामा सो व्यवसाय गरेका ह्ुन् । सहरमा भन्दा गाउँमा जग्गा कम भाडामा पाइने र आफ्नै पनि जग्गामा व्यवसाय गर्न पाउने भएकाले गाउँमा फर्केर उनले व्यवसाय सुरु गरेका हुन् । “बजारमा जुन वस्तुको बढी माग हुन्छ, त्यहीअनुसारले व्यवसायलाई थप वृद्धि गर्दै लैजानका लागि पनि यसरी मिश्रितरूपमा पालन गरेको हुँ”, उनले भने, “बजारमा जुन पक्षीको बढी माग आउँछ, त्यहीअनुसार प्राथमिकतामा राखेर पालन गर्दैछु”, उनको फार्ममा कुखुरा दुई हजार, कालिज १५०, टर्की अलि कम रहेको छ । कुखुरा लागि गाउँतिर अलिअलि बिक्री भए पनि मुख्य बजार काठमाडौँ नै हुने गरेको लामाले बताए ।
बुद्धचित्त माला १५० बोट, कागती एक हजार ५०० बोट, एभोकाडो २०० बोट, अनार १०० बोट, आँप १०० बोट, अम्बा गरी करिब दुई हजार ५०० बोट फलफूल खेती गरिरहेको लामाले बताए । पाँच वर्षदेखि सुरु गरेको फलफूलमध्ये कागती, आँप र बुद्धचित्त मालाबाट यस वर्षदेखि आम्दानी लिन थालेको फार्म सञ्चालक लामाको भनाइ छ । सबै व्यवसायबाट मासिक रु ३० देखि ३५ हजार आम्दानी गरिरहेको र फलफूलको बोटबाट उत्पादन दिन थालेकाले अब राम्रो आम्दानी लिन पाउने अवस्थामा रहेको उनले बताए।
फलफूलको बोट बिरुवा रोपेको र कुखुरापालन गर्ने काम थालनी गरेको करिब पाँच वर्ष भएको उनले फार्म दर्ता नै गरेर काम गरेको एक वर्ष भएको बताए । आम्दानी सोचेजस्तो लिन नपाए पनि धेरै तनाव लिनु नपर्ने र आफ्नै तालमा काम गरेर खटेअनुसारको फाइदा लिन पाउने भएकाले कृषि र पक्षीपालन व्यवसायमा लागेको उनले बताए ।