जिल्ला प्रशासन, सुरक्षा र स्वास्थ्य निकायद्वारा महाभारत र खानीखोला गाउँपालिकाको स्थलगत अनुगमन

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रे, सुरक्षा र स्वास्थ्य निकायले काभ्रेपलाञ्चोक जिल्लाको महाभारत र खानीखोला गाउँपालिकाको स्थलगत भ्रमण गरेको छ ।

उक्त डाँडापारी क्षेत्रमा बसोवास गर्ने जनसमुदायको प्रशासन सम्बन्धि गुनासो, सुझाब र प्रतिकृयाको बारेमा अन्तरकृया गरी राज्यबाट जनताको जिउधनको सुरक्षार्थ अहोरात्र परिचालन हुने प्रहरी र प्रहरी ईकाईहरुको समेत निरीक्षण गर्दै आसन्न निर्वाचन केन्द्रित गतिविधिहरु बुझ्नको लागि जिल्ला प्रशासन, सुरक्षा र स्वास्थ्य निकाय सो क्षेत्र पुगेको हो । स्थलगत अनुगमन कार्यक्रम फाल्गुण २६ र २७ गते गरिएको थियो ।

काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, कालिजंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका  प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, श्री सशस्त्र प्रहरी बल १५ नं गण पाँचखाल सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभाग काभ्रेका प्रमुख अनुसन्धान अधिकृत नगेन्द्र दाहाल र स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईद्वारा ईलाका प्रहरी कार्यालय देविटार, गोकुले, प्रहरी चौकी फोक्सिङ्टार, तालढुङ्गा र फलामेटार काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण भ्रमण, निर्देशन सम्बोधन, नागरिक सुनुवाई तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शान्ति सुरक्षामा प्रत्यक्ष सरोकार राख्ने स्थानिय तह, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, नागरीक अगुवा, राजनितिक दल, पत्रकार, बुद्धिजीवि, विभिन्न पेशाकर्मी संघ संगठनका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

उक्त अनुगमन निरीक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा जिल्लाको अती विकट मानिएको भुगोलमा स्थानिय नागरिकहरुसँग सादाचारी पुर्ण व्यबहार गरी उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न उनले निर्देशन दिइन् ।

ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउन उनले आग्रह गरिन् । अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने भनि उनले निर्देशन सम्बोधन गरेकी थिइन्। उनले उक्त प्रहरी ईकाइहरुको वस्तुस्थितिको बारेमा समेत साक्षतकार गरेकी थिइन् ।

महाभारत गाँउपालिका वडा नं. ५ स्थित ग्रामोन्नती मा.विमा एकिकृत जनस्वास्थ्य अभियान समेत संचालन गरिएको थियो । उत्त क्षेत्रमा रहेको महिला दिदीबहिनीहरुसंग सम्बन्धित जनस्वास्थ्यका विषयमा महिलामा हुन सक्ने अब्सट्रिक फिस्टुला, पाठेघर खस्ने समस्या लगाएतका प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धि वृहत निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । अन्दाजी ६५ जना स्थानिय महिलाहरु लाभान्वित भएका थिए । महाभारत र खानिखोला गाँउपालिकाका स्थानिय जन समुदायसँग जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट स्थानिय समुदायको गुनासो, पिर–मर्का, समस्या र जिज्ञासा सम्बोधन गर्दै अन्तरकृयात्मक कार्यक्रमलाई समेत उनले सम्बोधन गरेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारीबाट निर्दिष्ट निर्देशनको परिपालनामा कटिबद्ध रहने र नागरिक सुनुवाई तथा अन्तरकृयात्मक कार्यक्रममा प्रहरी काम कारवाही, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको विषयमा उठेका सवालहरुलाई सम्बोधन गर्दै प्रहरी  कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले नेपाल प्रहरीले कुनैपनि राजनैतिक दल वा व्यक्तिको दवाव, प्रभाव र प्रलोभनमा नपरी निष्पक्ष र पारदर्शी तरिकाले जनमैत्री प्रहरी सेवा प्रवाह गरी कानून बिपरित काम कारवाही गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कानूनी राज्यको स्थापना गर्न व्यवसायीक हिसाबले सम्पुर्ण राजनितीक दल, नागरीक अगुवा, पत्रकार, पेशा र व्यवसायीक संघ संगठनहरुसंग पुर्वाग्रह रहित साथ र सहयोगमा समग्र जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्थितीलाई सुदृण गरी नितान्त जनमैत्री सेवा प्रवाह गर्ने कुराको प्रतिवद्धता व्यक्त गरे ।

हरेक प्रहरी कर्मचारीहरुलाई आ-आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी, गैह्र कानूनी क्रियाकलापमा संलग्न भई प्रहरी संगठनको छविमा आँच आउने प्रकृतिको कुनै पनि काम कारवाही नगर्न र स्थानिय सरकारसँगको सहयोग र सहकार्यमा समाजले प्रत्यक्ष अनुभुती गर्ने खालको नागरीक मैत्री सेवा प्रदान गरी आसन्न स्थानिय निर्वाचनको सुक्ष्म रुपमा खवर संकलन गरी तयारी अवस्थामा रहन निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस