पनौतीका विभिन्न उत्कृष्ट व्यक्तित्वहरूलाई नगपालिकाद्वारा सम्मान
काभ्रे : पनौती नगरपालिकाले आफ्नो ५ औं पुनसंरचना दिवस भव्यताका साथ मनाएको छ। दिवसको अवसरमा नगरपालिकाका विभिन्न क्षेत्र र जिम्मेवारीमा रही कुशल र उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
शुक्रबार नगरपालिका हलमा आयोजित पनौती नगरपालिका पुनसंरचना दिवस कार्यक्रममा शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि तथा पशु, मकर मेला व्यवस्थापन, सुरक्षा, कला तथा साहित्य,सूचनाका क्षेत्र लगायत नगरपालिकामा २० वर्ष भन्दा बढी समय अवधि कार्यरत कर्मचारीहरुलाई दिर्घ सेवा पदक सहित पुरस्कारद्वारा सम्मान गरिएको थियो।
नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटालाई वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ। यस्तै बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई नगरपालिकामा रही अनवरत सेवाको लागि सम्मानित गरिएको छ।
यस्तै नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सैंजु, इन्जिनियर राजकुमार प्रधानलाई सम्मान गरिएको छ। सब-इन्जिनियर आशिसराज गौतमलाई शहरी बिकास तथा योजना साखा तर्फ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियाे ।
कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कृषि व्यवशायी, उत्कृष्ट कृषि प्राविधिकको रुपमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ। मकर मेलामा उपभोक्ता समितिका ब्यक्तित्वहरु, स्वयंसेवकहरु संस्थागत बिद्यालय तर्फ उत्कृष्ट प्राचार्यको रुपमा वसन्त नेपाललाई सम्मान गरिएको छ। पनौती नगरपालिकाको उत्कृष्ट वडा सचिवमा वडा नम्बर ८ का सचिव भगवान बस्नेत सम्मानित भएका हुन ।
सूचनाको माध्यमबाट नगरपालिकाभित्रका विविध गतिविधिलाई आधारभूत तहसम्म पस्किने, विचार प्रवाह गर्ने, सचेतना अभिबृद्धि गराउँदै जागरुक सभ्य र सुसांस्कृत समाज निर्माणमा सहयोग पुर्याउने क्रियशिल पनौतीका स्थानीय पत्रकार रामसुन्दर आचार्यलाई नगरपालिकाले सम्मान गरेको थियो । त्यस्तै मकर मेलाका लागि फोटो दस्तावेजिकरणमा सहयोग पुर्याउने फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई पनि नगरपालिकाले सम्मान गरेको थियो ।
अक्षरमार्ग साहित्यिक त्रैमासिकका सम्पादक तथा साहित्यिक पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष एवम् साहित्यकार सूर्यप्रसाद लाकोजूलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्याएबापत नगरपालिकाले सम्मान गरेको छ ।
स्वास्थ्य सस्था अन्तर्गत उत्कृष्ट सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा पनौती स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा सम्मानित हुदै डा.चन्द्र शेखर यादवलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाले सम्पन्न गरेका विभिन्न विकास निर्माणका क्रियाकलापलाई भिडियो मार्फत प्रस्तुत गरिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले मकर मेलाका निर्माणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पनौतीका १२ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारीहरु, क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षा, कृषि, स्वस्थ्य, साहित्य, संचारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरु, स्वयंसेविकाहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।