प्रदेश स्तरीय प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन : आज पुरुषतर्फ फुटबल प्रतियोगिता हुने

हेटौंडा : प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन् शनिबार गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यता रहनुको साथै प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जिवनराम श्रेष्ठ र प्रदेश सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट अतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता अन्तरगत मकवानपुरमा आज (आइतबार) पुरुष तर्फको फुटबल प्रतियोगिता हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ ।

प्रतियोगितामा ८ वटा खेल हुनेछ । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।

त्यस्तै, सिन्धुपाल्चोकमो चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बजानकारी दिए ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम चैत्र १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस