‘शिक्षालाई सीप र रोजगारसँग जोडेर लैजाने अभियानमा छौँ’, :  शिक्षामन्त्री पौडेल

काभ्रे : शिक्षालाई सीप र रोजगारसँग जोडेर लैजाने अभियानमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. ८ मा रहेको श्री भूमेस्थान माविको ६१ औँ वार्षिकोत्सव एवं नव निर्मित चारकोठे र आठ कोठे भवनको संयुक्त उद्घटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाई सीप र रोजगारसँग जोडेर लैजाने अभियानमा रहेको बताएका हुन् ।

शानिबार सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘देशैभरिका शिक्षा क्षेत्रलाई सुधार गर्न जरुरी छ । विद्यालय सुधारका लागि शिक्षक महासंघ र अभिभावक महासंघसँगै शिक्षाविद्हरुसँग निरन्तर छलफल गरिरहेको छ ।’ त्यस्तै शिक्षामन्त्री पौडेलले आफु संघीयताको लागि लडेको मान्छे भएको बताउँदै स्थानीय तहको अधिकार खुम्च्याउन भन्दा पनि थप बलियो बनाउन चाहेको बताए ।

‘शिक्षक महासंघसँग गरेको सम्झौता स्थानीय तहको अधिकार खोस्न खोज्यो भनेर प्रचार गरे, त्यसो होइन,’ उनले भने, ‘शिक्षकहरुसँग गरेको संझौता तोड्मोड नगर्न अनुरोध गर्छु । संघीयताको विरुद्धमा जाने, स्थानीय तहको अधिकार खोस्ने कुरै आउँदैन । बरु बलियो बनाएर अघि बढ्ने प्रयत्न हुनेछ ।’

शिक्षक सेवा आयोगलाई सक्रिय बनाउदै लैजाने समेत मन्त्री पौडेलले बताए । उनले भने, ‘५७६ जना शिक्षकहरुलाई पुर्नस्थापना गरेको छ । शिक्षकहरुलाई कर्मचारीको सेवा सुबिधा समान गर्नेछौँ ।’ उनले निजी विद्यालयलाई गाली गर्नु भन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न आग्रह गरे । उनले शैक्षिक सुधार गर्न कहिँबाट कोहि आउँछकी भनेर मुख तोकेर नबसी आफैले गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ ‘वमध्वज’, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक क्षेत्रको विषयमा मन्तव्य राखेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय