इच्छा विपरीत लोला हान्ने, जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने
काठमाडौं : नेपाली हिन्दूहरुको पर्व होली पर्व नजिकिँदै छ । होली नजिकिँदै गर्दा यस पर्वलाई मर्यादित रुपमा मनाउन प्रहरीले अनुरोध गरेको छ । होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।
पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार यस वर्षको होलीमा काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् ।
यसबाहेक रिजर्भ फोर्स समेत हुनेछन् । वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने उनले जानकारी दिए । उनका अनुसार जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् । होली सुरक्षाको कमान्ड डीएसपी र इन्सपेक्टरले गर्ने प्रहरी तयारी छ ।
‘होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरी कानुन अनुसार अगाडि बढ्छ,’ उनले भने, ‘सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ ।’