मुख्यमन्त्री पाण्डेलाई ट्रक व्यवसायीले दिए ७ दिने अल्टिमेटम
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई नेपाल ट्रक यातायात व्यवसायी महासंघले ७ दिने अल्टिमेटम दिएको छ । महासंघले मुख्यमन्त्री पाण्डेलाई ७ दिनभित्र ट्रकका समस्या समाधान गर्न मंगलबार अल्टिमेटम दिएको हो।
ज्ञापनपत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउन नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रकहरू ग्यारेजमा थन्क्याउने चेतावनी दिएको छ । पत्रमा भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको र भारतीय ट्रकले नेपालमा समान झारेर फर्कंदा इन्धन लैजान गरेका छन् । र, कतिपय ठाउँमा ट्यांकरमै इन्धन भरेर भारत लैजाने गरिएको छ । भारतमा थोत्रो भएका ट्रकहरू नेपालको सीमा बजारमा ल्याएर चलाउने गरिएकाले नेपाल, भारतको थोत्रो ट्रक डम्पिङसाइट बन्दै गएको छ । यसलाई समयमै रोकिनुपर्ने उनीहरूको माग छ । मुख्य राजमार्गमा पार्किङस्थल नबनेकाले दुर्घटना बढेका छन् । ५० किलोमिटर दूरीमा ‘पार्किङ वे’ व्यवस्था गर्न भनिएको छ ।
वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले व्यवसायीसँग सम्झौता गरेअनुसार ५ रुपियाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै ५ माग राखिएका छन् । उनीहरूका अनुसार इन्धनको मूल्य १ सय ४ रुपियाँ हुँदा बढेको भाडा इन्धनको मूल्य १ सय ३३ रुपियाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमा समस्या छ ।
मुलुकलाई आवश्यकभन्दा बढी ट्रक हुँदा पनि भारतीय गाडीहरू निर्वाध आइरहेका छन् र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेका छन् । नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा प्रवेशका लागि दूतावासको सिफारिसलगायत झन्झट छन् । तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा उक्त क्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेका छन् ।