भुग्देउमा नवनिर्मित विद्यालय र वडा कार्यालय भवनको उद्घाटन

काभ्रे : जिल्लाको बेथाचोक गाउँपालिका वडा नं ६ स्थित सरस्वती माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ । एशियाली विकास बैंकको सहयोगमा बनेको उक्त भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उद्घाटन गरेका हुन् । ८ करोडमाको लागतमा बनेको सविधा सम्पन्न विद्यालय भवनमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव लगायतका २२ कोठाको संरचना रहेको छ ।

सोही अवसरमा गाउँपालिकाको वडा नं ६ को नवनिर्मित वडा कार्यालय भवनको पनि उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तिमिल्सनाले संघीयता बलियो बनाउन वडालाई शक्तिशाली बनाउनु पर्नेमा जोड दिए । अप्रत्यक्ष रुपमा संघ सरकार र स्थानीय सरकार मात्र भए पुग्ने बताउँदै वडा शक्तिशाली बने संघीयताको सही ढंगले कार्यान्वयन हुने असली रुपमा सिंहदरवार घर घर आइपुग्ने अध्यक्ष तिमल्सिनाले दावी गरे।

भुग्देउ सिउरानी टोडके जोडने सडक बनेसँग त्यस भेगका जनताले व्यहोर्दै आएको सास्ती कम भएको बताउँदै अध्यक्ष तिमल्सिनाले भने, “मेरो बाँकी जीवन गाउँपालिकाकै वृहत्तर हितमा लगाउने छु, मलाई कुनै लोभ मोह छैन् ।’ एक अर्को प्रसंगमा आफूहरुले राम्रो, पारदर्शी र इमान्दारीपूर्वक राम्रो काम गरिरहेको र वडा नं. ६ को वडाध्यक्षमा थप इमान्दारिता पाएकोले विकास निर्माणका कामले तीव्रता पाएको उनले बताए ।

वडा नं ६ का स्थानीयले अहिले भोगी रहेको खानेपानीको समस्या छिट्टै हटाएर एक घर एक धाराको अवधारणा अनुरुप जनताको सपना विपनामा परिणत हुने समय टाढा नरहेको उनले बताए । उनका अनुसार वडामा छिट्टै एम्बुलेन्स पनि आउने छ । गाउँमै रहेको स्वास्थ्य चौकीमा सम्भव नभएको उपचारका लागि सहर पुग्न एम्बुलेन्स सञ्चालनले सहजता प्रदान गर्नेछ । विकास निर्माणका क्षेत्रमा बेथानचोक गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा धेरै काम गरेको र पाँच वर्षको समयमा जात, धर्म, लिङ्ग र भेगीय आधारमा विभेद नगरेको उनको भनाई छ । वडा भवन बनेसँगै वडामा हुने कार्यसम्पादनमा सहजता आउने, सही व्यवस्थापन हुने गाउँपालिका अध्यक्ष तिमिल्सनाले बताए ।

गाउँपालिकाको वडा नं ६ मा जन्मिएर विभिन्न क्षेत्रमा योग्दान दिने व्यक्तिहरुलाई उक्त कार्यक्रममा विशेष सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्की, विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन लामा, स्थानीय समाजसेवी कुमार गोले, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रामप्रसाद भट्टर्राइलगायतको मन्तव्य रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, वडा नं.२ का वडा अध्यक्ष भगवान घिमिरे, ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं.२ का सदस्य रामप्रसाद अधिकारी, एडिबिका इन्जिनियर बाबुराम देवकोटा, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राई, विभिन्न दलका स्थानीय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष विष्णुबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा सचिव सानुकाजी थापाले स्वागत मन्तव्य र शिक्षकद्वय सिद्धार्थ थापा र शोभा गोलेले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस