लागूऔषध कारोबारमा संलग्न काभ्रेका २ पुरुष सहित १२ जना पक्राउ
काठमाडौं :लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न काभ्रेका दुई पुरुष सहित १२ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो।
उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१.७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन्। यस्तै नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै काभ्रेका ३३ वर्षीय मिलन लामा र मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ पनि पक्राउ परेका छन्। गुरुङलाई लागुऔषध उपलब्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार यादव र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरु सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।