मण्डनदेउपुर आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न

काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित नौबिसेमा निर्माण गरिएको मण्डनदेउपुर आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न  भएको छ ।

निर्माण कार्य सम्पन्न भएसँगै अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ । संघीय सरकारका स्वास्थय तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अस्पतालको उद्घाटन गर्ने नगरपालिकाले जानकारी दिएको छ ।

अस्पताल निर्माणका लागि काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का सांसद लक्ष्मण लम्सालको विशेष पहलमा बागमती प्रदेश सरकारले बजेट विनियोजन भएको थियो । उक्त अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण भएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेश सरकार र नगरपालिकाको करिब ९ करोड बजेटमा अस्पतालको संरचना तय भएको हो । अस्पताल सञ्चालनमा आएपछि मण्डनदेउपुर नगरपालिकाका नागरिकले सजिलै डाक्टर सहितको सेवा पाउनेछन् । सेवा लिन टाढा जान नसक्ने व्यक्ति,आर्थिक अवस्था कम भएका घरपरिवारका लागि यो अस्पताल निकै प्रभावकारी हुने प्रवक्ता आर्चायले बताए ।

यो अस्पतालमा ५ वटा वेड, ल्याब, एक्स रे, बर्थिङ केन्द्र, फार्मेसी लगायतका सुविधा रहने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि यहाँका ्स्थानीयले एक्स रेका लागि पाँचखाल, धुलिखेल, बनेपा धाउनु पर्ने छैन् । प्रयोगशालाको पनि काम यहि अस्पतालबाटै हुनेछ।

नेपाल सरकारले तोकेका सबै निःशुल्क औषधी त्यहि अस्पतालबाट उपलब्ध गराइनेछ । जटिलता युक्त प्रसूति समेत गराउने जनशक्ति यहि अस्पतालमा रहनेछन् । नगरपालिकाले स्वास्थ्य बिमाको प्राथमिक उपचार सबै यहि अस्पतालबाट गर्ने र थप उपचारका लागि मात्रै धुलिखेल अस्पताल पठाउने योजना बनाइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस