
मोरङ : मोरङको लेटाङमा भएको झडपमा एक महिला प्रहरी जवान भएको छ । आइतबार भएको झडपपछि प्रहरीले ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।
‘प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’
मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । यस घटनाको छानबिन पनि हुने उनले बताए ।
२४ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।
लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी दाहाले जानकारी दिएका छन् ।
उनका अनुसार खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानीय झडपमा परि घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।
घाइते हुनेहरूमा १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खटिएका प्रहरी हल्वदार कृष्ण कुमार यादव, उमेश वरही, संगीता प्रसाइ, संजय यादव घाइते भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी हवल्दार खुबी सावा, प्रहरी जवान जाबुक खड्का, लाल मिश्रा, संजय भुजेल, बिमल धिमाल, दिपक कुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय लेटाङका चार जना हल्वदार घाइते भएका छन् । जसमा सन्त बहादुर मगर, मिक्वा योङहाङ, शिव कुमार यदाव, रेनुका सोनाम रहेका छन् । यस्तै दिपेश राय, मनिता राई र धुव्रबहादुर कार्की पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । ६ जना उपचारपछि फर्किएका छन् ।