चोरी भएको सुन ४ महिनापछि ‘कुकर बम’ मा राखेर फिर्ता
कैलाली : कैलालीमा चोरी भएको सुन चार महिनापछि ‘कुकर बम’ मा राखेर चोर्नेले नै फिर्ता गरेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ स्थित बनखेती बस्ने नविन साहुको घरबाट मंसिर दोस्रो साता ९ तोला सुन चोरी भएपछि उनले मंसिर १५ मा इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।
प्रहरीले अनुसन्धान गरिरहेको थियो । चैत ७ मा नवीनको घर अगाडी ‘कुकर बम’ भेटियो । चोरीमा संलग्न आरोपीले प्रेसर कुकरको बाहिर ‘खतरा’ लेखेका थिए । सैनिकको बम डिस्पोजल टिम घटनास्थलमा पुग्यो । कुकरमा तार जोडेको नदेखेपछि सेनाले सामान्य तरिकाले कुकरको ढकन मात्रै खोल्नेगरी डिस्पोज गरेको थियो ।
डिस्पोज गर्दा कुकरमा विष्फोटक पदार्थ राखेको देखिएन । कुकरभित्र ४ तोला साढे ४ आना सुन भेटियो । सुनसँगै चोरले धम्कीपूर्ण भाषामा लेखेर छाडेको कागज पनि फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार नोटमा धम्कीपूर्ण भाषामा फलानोको जस्तो हालत होला भनेर लेखिएको थियो ।
चोरीमा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।