म्यादी प्रहरीका लागि काभ्रेमा मागभन्दा दोब्बर बढिले दिए आवेदन
काभ्रे : सरकारले स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा माग गरेकोभन्दा दोब्बर बढि म्यादी प्रहरीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सरकारले स्थानीय तहको निर्वाचन २०७९ को लागि काभ्रेमा १४ सय ९५ जना म्यादी प्रहरी माग गरेको छ । जसका लागि काभ्रेमा ८ सय ३४ जना महिला र २३ सय ३९ जना पुरुष गरी ३१ सय ७३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त संख्या माग गरिएकोभन्दा दोब्बर बढि हो ।
म्यादी प्रहरी भर्ना कार्यको अन्ति दिन जिल्ला प्रहरी कार्यालय काभ्रेमा ३ सय ३८ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । म्यादी प्रहरी भर्नाका लागि काभ्रेमा पहिलो दिन ४ सय ५० जना, दोस्रो दिन ६ सय ९ जना, तेस्रो दिन ५ सय ८९ जना, चौँथो दिन ६ सय ५७ जना, पाचौँ दिन ५ सय ३० जना र छैठौँ अर्थात अन्तिम दिन ३ सय ३८ जना गरी ३१ सय ७३ जनाले आवेदन दिएको उनले जानकारी दिए ।
काभ्रेमा म्यादी प्रहरीका लागि आवेदन दिएका ३१ सय ७३ जनामध्ये छनौट भएका १४ सय ९५ जनाले ४० दिनको सेवा लिन पाउनेछन् । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।