किसानलाई ठगी गरेको अभियोगमा एक व्यापारी पक्राउ
सल्यान : किसानलाई ठगी गरेको अभियोगमा एक व्यापारी पक्राउ परेका छन् । किसानलाई ठगी गरेको आरोपमा सल्यान प्रहरीले हाते ट्याक्टरसहित व्यापारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ३ का गंगाराम खत्री रहेका छन्।
कृषि किङ र किसानको हाते ट्याक्टर उपलब्ध गराउने सहमति रहेकोमा अर्कै कम्पनीको हाते ट्याक्टर दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना इकाई जोनले अनुदानमा उपलब्ध गराउने हाते ट्रयाक्टर खरिदको लागि खत्रीको जलजला सिड कृषि फर्मले जिम्मा पाएको थियो।
कृषि किङ र किसान कम्पनीको हाते ट्याक्टर एउटालाई ७२ हजार मूल्यमा उपलब्ध गराउने सहमति भएको थियो। जसमध्ये ३६ हजार किसानको र ५० प्रतिशत प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना इकाई जोनले अनुदानमा उपलब्ध गराउने सम्झौता थियो।
खत्रीको कृषि फर्मले बदमासीपूर्वक अर्कै कम्पनीको ट्याक्टरमा कृषि किङ र किसानको लोगो राखेर ठगी गर्न खोजेको प्रहरीले बताएको छ। स्थानीय कृषक समूहबाट प्राप्त सूचना र कृषि किङ र किसानको आधिकारिक बिक्रेता डिबी इन्टरनेशनल प्रालि भरतपुर चितवनबाट आफ्नो लोगोको अनधिकृत प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दर्ता भएको थियो।
त्यसैका आधारमा चैत १० गते बिहान १० बजेतिर सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ कपुरकोट बजारबाट हाते ट्याक्टर लोड गरिएको प्रदेश ३-०-१-००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
चेकजाँचका क्रममा प्रहरीले ६५ थान हाते ट्याक्टर बरामद गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए। जिल्ला अदालतबाट खत्रीलाई सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको खड्काले बताए।