मन्त्री कार्कीद्वारा सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास

काभ्रे : जिल्लाको पनौती नगरपालिका वडा नं ५ मा सुरक्षण मुद्रण केन्द्र भवन बन्ने भएको छ । मंगलबार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेद्रबहादुर कार्कीले उक्त भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले छापाखाना स्थापना भए पश्चात यसले राष्ट्रिय उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सहित विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीहरुको आयात प्रतिस्थापनमा सहयोग पुग्ने र त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।
अधिकांश आयोजना शिलान्यास भएर बर्षौ सम्म अलपत्र हुने गरेको बताउनुहुँदै सुरक्षण मुद्रण छापाखानालाई समय मै सक्ने गरी काम अगाडि बढाउन निर्देशन उनले दिए। त्यस्तै सुरक्षण मुद्रण केन्द्रलाई द्रुतगतिमा सुरक्षण छपाईको कार्य अगाडि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै सहयोग, समन्वय र सहजीकरण सबैको व्यवस्थापन मिलाउन पनि उनले निर्देश दिएका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेल, संविधान सभा सदस्य तथा नेपाली काँग्रेस जिल्ला सभापति तीर्थ लामा, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
२०७९ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य लिइएको बहुउद्दशीय सुरक्षण मुद्रण केन्द्र भवन ३५ करोड लागतमा निर्माण हुनेछ । पासपोर्ट, बैङक नोट, बैङक कार्ड र अन्तःशुल्क स्टिकर जस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्धेश्य सहित सरकारले काभ्रेको आइटी पार्कमा सुरक्षण मुद्रण छापाखानाको निर्माण कार्यलाई अगाडि बढाएको छ ।