काभ्रे : वैदेशिक रोजगारका विषयमा युवाहरुसँग सिभिस एक्सन टिमको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सिभिस एक्सन टिमको आयोजनामा आज बनेपामा युवाहरुसँग वैदेशिक रोजगारीका विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
अन्तर्क्रिया कार्यक्रममा वैदेशिक रोजगारीको बारेमा बुझाई, वैदेशिक रोजगारीमा युवाहरुको आर्कषण, वैदेशिक रोजगारीमा जानु अघि बुझ्नुपर्ने कुराहरु, सीप विकास, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको अनुभव र अवस्था, सुरक्षित वैदेशिक रोजगारका लागि स्थानीय तहको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।
अहिलेको युवाहरुमा पैसा नै सबथोक हो भन्ने मानसिकता भएकाले नै आफू आत्मनिर्भर हुनका लागि पनि वैदेशिक रोजागरमा युवाहरुको आर्कषण बढ्दै गएको कार्यक्रमका सहभागी सन्दिप पौडेलले बताए । स्वदेशमा रोजगारीको श्रृजना गर्न सकेमा वैदेशिक रोजगारप्रति युवाहरुको आर्कषणमा कमी हुनेमा उनले जोड दिए ।
५ वर्ष मलेसियामा श्रम गरेर स्वदेश फर्किएकी पनौतीकी सीता के.सीका अनुसार विदेश जानु अघि सीप सिकेर, सबैको राम्रो गरेर अध्ययन गरेर गएमा विदेशमा दुःख भोग्नुपर्ने अवस्था आउँदैन । आफूले सही काम अनुशासित भएर गरेमा विदेशमा राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । विदेशमा गर्ने परिश्रम स्वदेशमै गर्न उनले जोड दिदैँ भनिन्, ‘नेपालमै दुःख गरे यहीँ मनग्गे आम्दानी गर्न सकिन्छ । विदेश जान गर्ने लगानी नेपालमै गर्न सके, यहीँबाट राम्रो लाभ लिन सकिन्छ ।’
त्यस्तै वैदेशिक रोजगारीबाटै फर्किएकी धुलिखेलका सुमिना तामाङले पनि विदेश जाने पैसा नेपालमै लगानी गरेर व्यवसाय गर्न आग्रह गरिन् । नेपालमै रोजगारीको अवसरहरु श्रृजना भएमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउने उनले बताइन् । ‘सीप सिकेमा विदेश जानै पर्दैन,’ उनले भनिन्, ‘नेपालमै दक्ष सीप हासिल गरेमा यहीँ प्रशस्तै रोजगारीका अवसरहरु भेटिन्छन् ।’
समाजमा बढ्दै गएको देखासिखीको प्रबृत्तिले पनि नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्यामा बृद्धि भएको वैदेशिक रोजगारबाट फर्किएका धुलिखेलका परीक्षण हुमागाई बताउँछन् । उनका अनुसार सबैभन्दा पहिले आफू सक्षम हुनु जरुरी छ । आफू सक्षम भएमा रोजगारीका अवसरहरु नेपालमा भेटिन्छन् । उनी वैदेशिक रोजगारीमा नजान आग्रह गर्छन् । यदि जानै परेमा पनि आफू जान लागेको देशको बारेमा सम्पूर्ण अध्ययन गरेर त्यहाँको बारेमा प्रयाप्त जानकारी लिएर जान उनी सुझाउँछन् ।
त्यस्तै वैदेशिक रोजगारीबाटै फर्किएका धुलिखेल नगरपालिका वडा नं ११ का नारायण लामाका अनुसार नेपालमा श्रम गरे अनुसराको उचित मूल्यानकंन नभएकाले पनि युवाहरु वैदेशिक रोजगारीमा आर्कषण बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारी जानेलाई सीप सिक्न सुझाउँदै उनले भने, ‘विदेश जानु अघि आफू जाने देशको भाषा, संस्कार, संस्कृति, निति, कानुन, लगायतका विषय अध्ययन गर्न एकदमै आवश्यक छ । यसका साथै काम र कम्पनीको बारेमा पनि धेरै अध्ययन गर्नुपर्छ ।’ सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय तहले पनि विशेष कार्यक्रमहरु गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका पनौतीका बुद्ध कुमार श्रेष्ठले पनि वैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि स्थानीय तहहरुले विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वैदेशिक रोजगारीका लागि तयारी गर्दै गरेका युवाहरु, वैदेशिक रोजगारीबाट फकिएका युवाहरु, सञ्चारकर्मीहरु, सिभिस एक्सन टिमका प्रतिनिधिहरुले वैदेशिक रोजगारका विषयमा छलफल गरेका थिए ।























