राष्ट्रपति भण्डारीद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिरको उद्घाटन

काभ्रे : राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित पुननिर्मित प्राचीन कालिका मन्दिरको उद्घाटन गरेकी छिन् ।
२०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई आज संवोधन गर्दै भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्प गर्न पनि जनप्रतिनिधि तथा सम्वद्ध सबैलाई विशेष आह्वान गरिन् ।
‘स्थानीय तहमा भौतिक निर्माण एवं पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मुल बचाउने जैविक विविधताको रक्षा गर्ने गरेमा मात्र यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि सुरक्षित बनाउन सक्दछौं ।
ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि नमोबुद्ध नगरपालिकाले देखाएको अग्रसरताको प्रशंसा गर्दैै भण्डारीले राष्ट्रपति भण्डारीले भुकम्पले भत्काएका सम्पदाहरु अझ बलियो र स्थायीरुपमा पुननिर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास पनि अझै बलियो भएको बताइन्।
स्थानीय तहमा जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका काम सञ्चालन भई जनताका दैनिक आवश्यकताको प्रत्यक्ष संवोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको भण्डारीको भनाई थियो ।
नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरिरहेको थाहा पाउँदा खुशी लागेको पनि भण्डारीले बताइन् । नमोबुद्ध नगरपालिकामा पर्यटन क्षेत्रको विकासका लागि भइरहेको कार्यको सराहना गर्दै भण्डारीले मुलुककै राजधानी काठमाडौं र अझै नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई नमोबुद्धमा भित्र्याउन सके मात्रै पनि स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्ने बताइन् ।
दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न भइरहेको पहलले यो क्षेत्रको पर्यटनमा थप फलदायी बन्ने विश्वास व्यक्त गर्दै भण्डारीले भनिन्, ‘यसका लागि भइरहेको आवश्यक पूर्वाधार निर्माणमा यहाँहरुले गरिरहनुभएको प्रयास फलदायी हुने विश्वास लिएको छु । यस कार्यमा मेरो सदैव सहयोग र शुभकामना रहनेछ ।’
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले प्राचीन कालिका मन्दिर पुननिर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागसहित सबैमा धन्यवाद व्यक्त गर्दै ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनको कार्यमा हौसला बढाउन उपस्थित भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आभार प्रकट गरे।
कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान मुल नारासहित अघि बढिरहेको नमोबुद्ध नगरपालिकाले यस क्षेत्रका धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिँदै आएको बताउँदै तिमल्सिनाले नगरपालिकाले कानपुर क्षेत्रको रक्तकाली मन्दिरसहित नगरभित्रका प्राचीन मठमन्दिरको पुननिर्माण गरिसकेको तथा नमोबुद्ध गुम्बा क्षेत्रको पुननिर्माण र संरक्षणमा नगरपालिका निरन्तर लागिरहेको बताए ।
नमोबुद्ध गुम्बा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागिसमेत प्रयास अघि बढिसकेको तथा ऐतिहासिक दाप्चा बजारको पुनरुत्थानका लागि कार्य सुरु भइसकेको उनको भनाई छ । कृषि, व्यापार र पर्यटनबाट यस क्षेत्रलाई समृद्ध बनाउन नगरपालिकाले नगरबासी र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुसँग हातेमालो गर्दै अघि बढेको जानकारी दिँदै तिमल्सिनाले सेवा प्रवाहलाई सहज र सरल बनाउन नगरका सबै वडामा वडा कार्यालय, स्वास्थ्य संस्था, सडक निर्माण लगायतका भौतिक पूर्वाधारको विकास पनि निरन्तररुपमा अघि बढिरहेको पनि बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राष्ट्रप्रमुखलाई आफ्ना आगनमा स्वागत गर्न पाउँदा सम्पूर्ण नमोबुद्ध नगरबासी खुशी भएको बताए । नमोबुद्ध, कालिका मन्दिर, जगवैजेश्वर, अमर अखण्ड हरिनाम संकीर्तन, मथुरेश्वर, बुचाकोट भगवती लगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक विशिष्टताले नमोबुद्ध नगर सम्पन्न रहेको पौडेलले बताए ।
कृषिलाई आधुनिकतातर्फ लैजान भइरहेको प्रयत्नबारे जानकारी गराउँदै उनले कृषि र पशुपालनको क्षेत्रमा आत्मनिभरतातर्फ उन्मुख गर्न विभिन्न कार्य भइरहेको बताए । सार्वजनिक सेवा प्रवाह, पारदर्शिता, सूचनाको हक र सुशासनको क्षत्रमा राज्यले तय गरेका मापदण्डको पूर्ण पालना गरी लोकतन्त्रको लाभ सबै क्षेत्र र वर्गले लिन सक्ने गरी सबै वडा कार्यालय, स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको पनि पौडेलले बताए । भौतिक क्षेत्रको विकासका साथै सामाजिक विकासका लागि पनि सक्रियतापूर्वक काम भइरहेको पौडेलको भनाई थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र सम्पूर्ण नगरबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । यस्तै कालिका मन्दिर पुननिर्माणमा महत्वपूर्ण भूमिका खोल्ने पुरातत्व विभागलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पुननिर्मित कालिका मन्दिरको समुद्घाटनसँगै पूजाअर्चनासमेत गरेकी थिइन् ।
विक्रम संवत १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।