बनेपामा मेयरका लागि बैदारको चर्चा : यी हुन् एमाले निकटका मेयरका आकांक्षी

काभ्रे : स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिँएसँगै यतिबेला देशभर चुनावी सरगर्मी बढेको छ । त्यस्तै काभ्रेमा पनि कहाँ कसले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने विषयमा राजनितिक चहलपहल सुरु भइसकेको छ ।
धेरैको चासोको क्षेत्र भएको बनेपा नगरपालिकामा क–कसले उम्मेदवारीको दाबी गर्लान् भन्नेमा धेरैको जिज्ञासा भएको देखिन्छ । नेकपा एमालेबाट बनेपामा मेयरका लागि आधा दर्जनले दाबी गरिरहदाँ बनेपाका सफल व्यवसायी एवं समाजसेवी रविन्द्र बैदारको चर्चा बढ्दो छ ।
बनेपामा एक प्रतिष्ठत व्यक्तिको रुपमा पहिचान बनाएका बैदार करिब दुई दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय रहेका छन् । बैदारको यिनै विशेषतालाई मध्यनजर गर्दै नेकपा एमाले जिल्ला कमिटी काभ्रेको दोस्रो पूर्ण बैठकबाट पूर्वमन्त्री एवं जिल्ला कमिटी काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटाले उनलाई जिल्ला सदस्यका लागि मनोनित गरेका हुन् । । बाँस्कोटाले बैदारलाई मनोनित गरेसँगै बनेपामा मेयरका लागि उनको सम्भावना बढेको हो । त्यसकारण पनि रबिन्द्र बैदारको उम्मेदवारी बलियो देखिएको छ ।
बनेपामा मयेरका लागि बैदारसँगै बनेपाका अर्का व्यवसायी रत्नकुश रन्जितकार, व्यवसायी रामशरण दाहाल, कानुन व्यवसायी हरिशरण दाहाल, नेकपा एमालेका बागमती प्रदेशका कमिटी सदस्य कुमार तिमल्सिनाले पनि उम्मदेवारीको दाबी गरेका छन् । त्यसो त अहिलेकै मेयर लक्ष्मी नरसिं बादेले पनि पुनः मेयरका लागि उम्मेदवारी दिने श्रोतले बताएको छ । बाँस्कोटाले मेयरको टिकट रत्नकुश रञ्जितकारलाई दिने हल्ला चलाएपनि बाँस्कोटाको भने त्यस्तो मनाशय नरहेको बाँस्कोटाका निकटका व्यक्तिहरुले बताएका छन् ।
बनेपामा बैदारको लोकप्रियता बढ्दै गएकाले पनि नगरभित्र नेतादेखि कार्यकर्तासम्मले उनलाई रुचाएका छन् । त्यसकारण पनि बनेपामा बैदारले मेयरको टिकट पाएमा जित सुनिश्चत हुने कार्यकर्ताहरुले विश्वास लिएका छन् ।