काभ्रे : आगामी वैशाख ३० मा हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा ३० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएका छन् ।
दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन्। त्यस्तै अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख उमेश कुमार राईले जानकारी दिए । काभ्रेमा दर्ता भएका ३० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने राईले बताए ।
निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ। आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ।



















