सिन्धुली : कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागुऔषध नुर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित सुनसरी बर्जु गाउँपालिका-६ चिम्डी बस्ने २६ वर्षीय जितेन्द्र कुमार दासलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख १२३२ नम्बरको हाईसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार जितेन्द्रलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरा बसपार्कबाट नियन्त्रित लागुऔषध स्पामो प्रोक्सिभन ४८ ट्यावलेट र डाइलेक्स डिसी ६ बोतल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया सबिता राई र बराहक्षेत्र नगरपालिका-२ बस्ने २६ वर्षीय संजय राई रहेका छन् । सबिताको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुर्नवास नगरपालिका-१ ढक्का बस्ने ४४ वर्षीय शेर बहादुर बमलाई १०८.४६ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शेर बहादुरको किराना पसलमा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।