काठमाडौं : बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखु गाउपालिका–५ लाटेबोटडाँडा घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामा रहेका छन् । लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले मंगलबार पक्राउ गरेको हो ।
गोंगमा लुकिछपी बसिरहेको अवस्थामा लामालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र २५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
लामाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एनएमबी बैंक लिमिटेड बौद्धको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।पक्राउ परेका लामालाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।























