माछा संरक्षणमा जुट्दै पनौती : लिलावती खोलामा ५० हजार माछाका भुरा छाडियो

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले पर्यावरण संरक्षणलाई प्राथमिकता दिएको छ । पर्यावरण संरक्षण अन्तर्गत नगरपालिकाले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाँडेको छ।
माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यले बिहीबार नगरपालिकाको वडा नम्बर–१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका भुरा छाडिएको नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले जनाएको छ ।

पर्यावरण संरक्षणका लागि लिलावती खोलामा माछाका भुरा छाड्ने कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले ताल र खोलाको जैविक विविधता कायम गर्न र यसको महत्व जोगाइ राख्न माछाका भुरा छाडिएको बताए । छाँडिएका माछाका भुरा केही समयमै आम्दानीको स्रोत बन्ने भएकाले यसको संरक्षण गर्न स्थानीय पनि लाग्नुपर्ने उनले बताए। पनौती क्षेत्रका अन्य खोला र नदीमा पनि माछाका भुरा छाड्ने कार्यक्रमलाई विस्तार गरिदै लैजाने योजना नगरप्रमुख न्यौपानेले सुनाए ।

यस्तै, उपप्रमुख गिता बञ्जाराले खोला र माछा स्थानीयको सम्पत्ति भएकोले यसको संरक्षण गर्नु पनि स्थानीयको दायित्व भएको बताउनुभयो। यस कार्यले आम मानिसको आयस्रोतमा बृद्धि गराउने र रैथाने प्रजातीको संरक्षण गर्ने उपप्रमुख बञ्जाराले बताइन् ।

पछिल्लो समय मानवीय गतिविधीले माछाको जीवन चक्र वातावरणीय प्रणालीमा असर पारेपछि सन्तुलनका कायम गर्न मद्दत गर्ने पनौती नगरेपलैका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताए। उनका अनुसार माछाका भुरा छाडिएको खोला क्षेत्रमा १ वर्षसम्म माछा मार्ने काम गर्न पाइदैँन । करेन्ट र विषादी प्रयोगले खोलाका माछा लोप हुने खतरा बढेपछि माछाका भुरा छाडिएको उनको भनाई छ।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिकाले जैविक विविधताको जोगाउन माछाको भुरा वितरण गरिएको बताए । यसबाट पर्यटकीय गतिविधी बढ्ने र चराको समेत संरक्षमा हुने आशा आफूहरुले गरेको बताए । उनका अनुसार माछा जोगाउन र संरक्षण गर्नको लागि ठाँउ-ठाउँमा होर्डिङ बोर्ड समेत राखिएको छ।

केही वर्ष अघिसम्म लिलावती खोलामा असला माछा पाइने गरेपनि केही समय यता माछा मार्न विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न थालेपछि माछा लोप भएको स्थानीयको भनाई छ। उक्त खोलामा अझै पनि केहि स्थानीय जातका माछा पाईने गरेको उनीहरुले बताए।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर(१ का अध्यक्ष गुणनाथ सापकोटा, पनौती ३ का अध्यक्ष किशोर थापा, स्थानिय, समाजसेवी, तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस