
काभ्रे : बनेपा पनौती सडक खण्ड अन्तर्गत धनेश्वरदेखि श्रीखण्डपुरसम्मको बाटो धुलाम्मे छ । उक्त सडक पार गर्न जो कोहीलाई पनि सकस पर्छ । धुलाम्मे सडकका कारण सास्ती खेप्नु परेको भन्दै स्थानीयले बिहीबारदेखि उक्त सडक खण्ड अबरुद्ध गर्दै आएका छन् ।
सडक पिच नहुँदा धुलोधुवाले सास्ती खेप्नपरेको भन्दै त्यहाँका स्थानीयले सवारी आवगमनलाई आज पनि बन्द गरेका हुन् । सडक पिचको माग गर्दै सम्बन्धित सरोकारवाला निकायलाई दबाब दिन स्थानीयले फाल्गुण २१ गतेदेखि पटक पटक सडक अबरुद्ध गर्दै आएका थिए ।
चैत १ गतेबाटै बाँकी खण्डमा कालोपत्रे गर्ने सहमितमा अघिल्लो पटकको बन्द फिर्ता भएको थियो । तर सम्बन्धित निकायबाट काम सुरु गर्ने बारे कुनै सम्बोधन नभएकोले स्थानीय झन आक्रोशित बनेका छन् ।
यो पटक अनिश्चित समयसम्म बन्द गर्ने भन्दै स्थानीय सडकमा उत्रेका हुन् । सडक अवरुद्धका कारण गन्तव्यमा पुग्नुपर्ने आम सर्वसाधारणले दुख पाएका छन् ।