तेमालका विदुर एवं एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिने

काभ्रे : जिल्लाको तेमाल गाउँपालिकाका विदुर एवं एकल पुरुषहरुलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । यो आर्थिक वर्षमा गाउँपालिकाका करिब १ सय १० जनाले मासिक २ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने तेमाल गाउँपालिका सामाजिक शाखा प्रमुख उद्धवप्रसाद पाण्डेले बताए।
तेमाल गाउँपालिकाको एकल पुरुष सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी बनेको कार्यविधि २०७८ को दफा ३ बमोजिम भत्ता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले प्रष्ट पारका छन ।
श्रीमती बितेर एक्लो भएका विदुर र विवाह नगरी बसेका ६० देखि ७० वर्षसम्मका व्यक्तिले विदुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख रहेको छ । यहि कार्यविधि अनुसार यसअघि वडा कार्यालयहरुमार्फत नाम दर्ता गराएका व्यक्तिहरुलाई भत्ता वितरण गर्न लागिएको पालिकाले सूचनामार्फत जानकारी गराइएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रम र बजेट अनुसार यो कार्यक्रम कार्यन्वयन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले लक्षित वर्गमा आवश्यक देखिएर नै आर्थिक वर्ष २०७८÷०७९ को नीति,कार्यक्रमसहित बजेट बनाएको र सोही अनुसार यो कार्यक्रम हुने बताईन ।
सरकारले दलित बालबालिका,अपांगता भएका व्यक्ति,एकल महिलालाई भत्ता दिदै आएको सन्दर्भमा तेमालका विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको हुदाँ यस खालको सामाजिक सुरुक्षा भत्ता कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।