मानव कंकालसहित एक जना भारतीय नागरिक पक्राउ

मोरङ : मानव कंकालसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ मानव कंकाल लैजाँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको हो ।

मंगलबार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट भारतको जोगबनीतर्फ मानव कंकाल लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बिहारको पूर्णियाका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रहरी उपरीक्षक राजकुमार लामिछानेले सिन्हालाई मानव कंकालसहित नियन्त्रणमा लिएको बताए।  प्रहरी उपरीक्षक लामिछानेका अनुसार पक्राउ परेका सिन्हाको साथबाट सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१६ मा अध्ययन गरेको परिचय पत्रसमेत भेटिएको छ। परिचय पत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ।

पक्राउ परेका सिन्हाले आफू चिकित्सा क्षेत्रको विद्यार्थी भएको बताएका छन्। सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, बंगारा, घाँटी र कम्मरको हड्डी, काँधको हड्डी, खुट्टाको नली हड्डी, हातको हड्डी, करङ, ढाड, औंला र कुरकुच्चाको हड्डी फेला पारेको हो। प्रहरी उपरीक्षक लामिछानेका अनुसार सिन्हालाई जोगबनी जाने क्रममा शंका लागेर चेकजाँच गर्दा उनले कार्टुनभित्र प्याक गरेको अवस्थामा कंकाल भेटिएको हो।

पक्राउ परेका सिन्हालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। विस्तृत अनुसन्धानपछि यस विषयमा थप कुरा सार्वजनिक हुने प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस