तेमालका विदुर तथा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण
काभ्रे : जिल्लाको तेमाल गाउँपालिकाका विदुर तथा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोछ । गाउँपालिकाले आज एक कार्यक्रमका बिच पालिकाका १ सय जना विदुर तथा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण वितरण गरेको हो ।
गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका विदुर तथा एकल पुरुषलाई मासिक २ हजारका दरले २०७८ साउनदेखि चैत्रसम्म गरी ९ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
६० वर्ष पूरा भएको र ७० वर्ष ननाघेका विदुर पुरुषका लागि भत्ता वितरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ बाट ६ जना, २ बाट १३ जना ३ बाट ५ जना, ४ बाट ११ जना, ५ बाट १२ जना, ६ बाट १५ जना, ७ बाट १८ जना ८ बाट १३ जना र ९ बाट ७ जना विदुर तथा एकल पुरुषहरु भत्ताबाट लाभान्वित भएको तेमाल गाउँपालिका सामाजिक शाखा प्रमुख उद्धवप्रसाद पाण्डेले बताए ।
चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्याक्रममा उल्लेख भए अनुसारको पालिकभित्र रहेका विदुर तथा एकल पुरुषहरुलाई भत्तादिने कार्यक्रमलाई कार्यन्वयन गरिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । उनका अनुसार सरकारले दलित बालबालिका, अपांगता भएका, एकल महिलालाई भत्ता दिदै आएपनि काभ्रेको तेमाल गाउँपालिकाले भने नयाँ कार्यक्रमका रुपमा विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेकोले यो कार्यक्रम लागु गरिएको हो ।
आफूले गाउँका जेष्ठ नागरिकहरुको दुःख देखेको र उहाँँहरुको जीवन सहज रुपमा चलाउनका लागि एकल पुरुषहरुको लागि केहि थप राहत पुगोस भन्ने हेतुले आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रमसहित बजेट बनाएको र सोही अनुसार यो कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । गाउँपालिकाले पहिलो पटक विदुर तथा एकल भत्ता नगद दिएपनि आगामी दिनमा बैङ्किङ प्रणालीबाट मात्रै भत्ता उपलब्ध गराइने बारे उनले जानकारी गराइन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केदारनाथ ढकालले जनप्रतिधिबाट धेरै नै राम्रो कामको सुरुवात भएको बताउँदै आगामी दिनमा पनि गाउँपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रमका भत्ता लिँदै वडा नम्बर ६ का मान बहादुर तामाङले विदुर पुरुषहरुको प्रतिनिधित्व गर्दै आफुहरुले भत्ता पाउने कुरामा खुशी हुदै पालिका अध्यक्ष र उपाध्यक्षलाई धन्यवाद सहित सदैव सम्झिरहने बताए।