
काभ्रे : नयाँ वर्षको आगमनसँगै काभ्रेमा पर्यटकीय चहलपहलमा बृद्धि भएको छ । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेको पर्यटकीय स्थलमा नयाँ वर्षको शुभारम्मसँगै यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ ।
काभ्रेको धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभान लगायतका क्षेत्र जिल्लाको पर्यटकीय स्थलको रुपमा चिनिन्छ । नयाँ वर्षमा घुम्नका लागि विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यी पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
काभ्रेको पर्यटकीय नगर धुलिखेल नगरपालिका स्थित देवीस्थानडाँडामा बान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले पिङ खेल्नका लागि मनोरञ्जन पार्कमा घोडा चढ्ने व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन् । काठमाडौँबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन् ।
साथीसङ्गी र परिवारसहित बाहिर घुम्न जाँदा सबैमा खुसीको अनुभूति हुने भएकाले विशेषगरी नयाँ ठाउँ तथा रमाइलो र मनोरञ्जन लिन पाउने ठाउँमा घुम्न निस्कनेहरूको भनाइ छ । पर्यटकहरुको चहलपहलसँगै पर्यटकीयस्थलका व्यवसायीमा उत्साह थपिएको छ । लामो समयसम्म कोरोना सङ्क्रमण जोखिमका कारण सोचजस्तो आम्दानी गर्न नपाएका व्यवसायी पर्यटकको आवतजावत कम हुँदा खुम्चिए बस्नुपरेको अवस्थामा अब पर्यटकको आवागमनसँगै व्यवसाय फस्टाउने आशामा छन् ।