एसएसपी बास्तोलालाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी
शुक्रबार, बैशाख १६, २०७९ | १३:१३:१७
काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार एसएसपी बास्तोलालाई कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा गर्ने निर्णय गरेका जनाइएको छ ।
प्रदेशमा खटिने डीआईजी नभएको हुनाले एसएसपी बास्तोलालाई निर्वाचन अघि कर्णालीको सुरक्षा जिम्मेवारी दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।