‘युवालाई गाउँमै रोजगार श्रृजना गरेर आत्मनिर्भर गर्नेछौँ’: उम्मेदवार चौँलागाई

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काभ्रेमा पनि चुनावी गतिविधि तिब्र गतिमा अघि बढिरहेको छ । सानादेखि ठूला दलहरु यतिबेला चुनावी प्रचार–प्रसारसँगै चुनाव केन्द्रित घरदैलो अभियानमा व्यस्त भएका छन् । गाउँदेखि सहरसम्मै विकासका योजनाहरु बोकेर उम्मेदवार जनताका घरदैलो पुगेका छन् । जिल्लाको चौरीँदेउराली गाउँपालिका वडा नं ३ का वडा अध्यक्षका उम्मेदवार चित्रप्रसाद चौँलागाईले पनि वडाको सम्बृद्धि र समुन्नत विकासका एजेण्डा लिएर चुनावी मैदान उत्रिएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चौँलागाईले चुनावी गतिविधिलाई कसरी अघि बढाएका छन् ? चुनावी एजेण्डामा कस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएका छन् ? लगायतका विषयलाई केन्द्रित गरेर वडा नं ३ का अध्यक्षका उम्मेदवार चौँलगाईसँग बेथानचोक खबर डटकमसँग गरिएको कुराकानीको सम्पादित अंश यस अंकमा प्रस्तुत गरिएको छ ।

तपाईको दिनचर्या कस्तो चल्दै छ ?
अहिले फेरि माहोल नै निर्वाचनकै मात्रै छ । मानिसहरु सबैलाई चुनावकै चटारो छ । यो निर्वाचन भनेको राजनीतिक दल र उसको कार्यकर्ताको लागि असारको रोपाँइमा जतिकै चटारो पर्छ । किनभने आज उसले जति मेहनत गर्छ भोलि मंसिरमा त्यही हिसाबको धान फल्छ । त्यसकारणले अहिले सबैलाई भ्याई नभ्याई छ । र तपाईले भन्नु भए जस्तै म विगत लामो समयदेखी नै माझिफेदाको सेवा र विकासमा सक्रियता रहदैँ आएको छ ।  यस गाउँमा बिजुली बाल्ने कुरामा होस या गाँउमा सहकारी सञ्चालन गर्ने कुरामा होस, एकदम अग्रसर रहेर काम गरेको छु । जनताका हरेक दुःख सुखमा घर दैलोमा पुग्ने गरेको छु ।

तपाईले जुन कुरा गर्नु भयो नि चुनाव भनेको दलका कार्यकर्ताहरुका लागि असार जतिकै चटारो हुन्छ, धेरै खट्नु पर्छ भन्नुभयो, कार्यकर्ता चाहिँ चुनावको बेलामा मात्रै काम लाग्छ भन्ने हो?

त्यस्तो संकेत गर्न खोजेको हैन । मैले चुनावको समयमा अलि बढी व्यस्त भइन्छ । मेहनत ज्यादा गर्नु पर्छ भन्न खोजेको हो । कार्यकर्ता त पार्टी निर्माणको महत्वपूर्ण मेरुदण्ड हो नि । कार्यकर्ता बिना त कुनै पार्टिको अस्तित्व नै रहँदैन नि ।

हामीलाई जानकारीमा भए अनुसार तपाईं चौँरिदेउराली गाँउपालिकामा माओवादीबाट सर्व सम्मत हुनु भएको सम्भवतः एक्लो वडाध्यक्षको उम्मेद्वार हुनुहुन्छ, कसरी सम्भव भयो?

हाम्रो ३ नम्बर वडा माझिफेदाबाट मात्रै सर्बसहमतिमा अध्यक्षको उम्मेद्वार चयन भएको हो । अब यसमा दुई वटा कुराहरु छन् । पहिलो कुरा मैले हिजो पार्टी निर्माणका क्रममा गरेको योगदानलाई पार्टिको नेतृत्व तहले र आम पार्टी पंक्तीका कम्रेडहरुले सहि मुल्याँकन गर्नु भएर हो । हिजो नेकपा विभाजन पछि साथीहरुमा वितृष्णा र बेचैनी आएको थियो । त्यो बेला उहाँहरुमा एउटा फ्रस्ट्रेसन थियो । कहाँ जाने के गर्ने कसरी गर्ने भन्ने कुराको । त्यो अवस्थामा मैले नेतृत्व गरेर पार्टिलाई सुदृढ गरेको हुँ । पार्टिको वडा कमिटि अध्यक्ष भएर मैले विचलित कम्रेडहरुलाई पुरानै घर र बाटोमा फर्काउने प्रयास गरेँ । माओवादी आन्दोलनलाई मैले आफ्नो गाउँ तहबाट कम्तिमा स्खलित हुन रोकेँ । त्यही भएर पनि सबैले मलाई एक मौका दिनु पर्छ भन्ने भावनाले दिनु भएको हो ।

दोस्रो कुरा मैले गाँउमा पुर्याएको योगदान र सेवा नै हो । मैले के गरेँ भनेर अहिले मैले मेरो नै गुनगान गाए जस्तो हुन्छ । यो त माझिफेदाको जनताले बुझेको र देखेको कुरा हो । त्यसकारणले जनताको पनि चित्र प्रसाद चौँलागाई आइदिए हुन्थ्यो भन्ने मनस्थितीलाई पार्टी पंक्तीले स्विकार गरेर मलाई सर्वसम्मतमा सिफारिस गरेको हो । अन्य वडाको हकमा पनि बाहिर हल्ला चलाए जस्तो माओवादीहरु एकले अर्कालाई स्विकार्न नसक्ने भएर धेरै जनाको उम्मेद्वारी परेको हैन। समाज बदल्छु भनेर हिँडेका सबैको चाहना एकचोटी आफूले पनि नेतृत्व लिनु पर्छ भन्ने हुन्छ । त्यती भएको हो । आजसम्म प्राय सबै वडामा समाधान भइसकेको छ ।

माझिफेदामा पहिला पनि माओवादीले जितेको ठाउँ हो । यसपाली तपाई पनि पक्कै जितकै खोजीमा हुनुहुन्छ । तर माझिफेदामा ५ वर्षसम्म माओवादीले केही गरेन भन्ने जनगुनासो छ भनिन्छ नि त?

माओवादीले माझिफेदाको विकासनै गरेन कि विकास गरेर पनि अरु पार्टीले जस्तो प्रचार गर्न सकेन भन्ने कुरा प्रमुख भएर आउँछ । अघिल्लो र हालसम्म पनि विनोदजीको कार्यकालमा माझिफेदामा वास्तवमै विकासको थालनी भएको छ । र धेरै कुरा सम्पन्न भएको छ । माझिफेदामा माओवादीले केही गरेन भन्नू चाहिँ जनताको गुनासो भन्दा पनि विपक्षी पार्टिको रोइ कराइ मात्रै हो । उनीहरु माझिफेदामा माओवादीलाई हराउने अश्त्रको खोजीमा छन । केही गर्न नसकेपछी भ्रमको खेती त गर्छन नि । फिल्डमै जानू भयो भने पनि देख्न सक्नु हुन्छ नि ५ वर्ष अगाडीको माझिफदा र अहिलेको माझिफेदा बिच फरक।

माझिफेदामा माओवादीले निर्वाचन जितेर बितेको ५ वर्षमा के के गरेको छ?

माओवादीको स्थानीय सरकार आएपछि एकदम नै महत्वाकांक्षि योजना एक घर एक धारा सम्पन्न गर्यौँ । यो योजनाले माझिफेदाका जनताको प्यास मेटिएको छ । हामी यतीमै रोकेका छैनौँ । माझिफेदामा सिँचाइको लागि भालुखोलाबाट पानी ल्याउने आयोजना सुरु गरिसकेका छौँ । अबको एक वर्षभन्दा कम समयमा त्यो पानी माझिफेदाका किसानको खेतबारीमा आइपुग्छ । हामीले सडक सन्जालमा व्यापक सुधार गरेका छौँ । आजको स्थितिमा माझिफेदामा मोटरबाटो नपुगेको कुनै पनि टोल छैन । पहिले भएका सडकहरुलाई स्तरोन्नती र फराकिलो बनाएका छौँ ।

वडामा प्रसुती सेवा सहितको स्वास्थ्य चौकीको स्थापना गरेका छौँ । विद्यालयहरुलाई आव । श्यक बजेट पुर्याएर यसको भौतिक संरचनाहरुलाई समृद्ध बनाइ विद्यार्थीलाई उपयुक्त वातावरणमा बसेर पढ्ने वातावरण मिलाएका छौँ । सम्भव भएका ठाँउमा साना साना सिँचाइका लागि पाइपबाट पनि पानी लैजाने व्यवस्था मिलाएका छौँ । केही स्थानमा पोखरीहरुको निर्माण गरिएको छ । साँस्कृतिक सम्पदाहरुमा तामङ्गहरुको बौद्ध घ्याङ छ्योर्तेनहरु बनाउन बजेट बिनियोजन गरेर कामहरु कतिपय अन्तिम चरणमा छन् । मन्दिर सतलहरुको निर्माण र मर्मत सम्भार गरेका छौँ । अन्य धेरै काम गरेका छौँ । माझीफेदामा विकासका धेरै कामहरु भएका छन् ।

माझिफेदामा जनता तपाईहरुसँग सन्तुष्ट छन?

हामीलाई पनि ५ वर्षमा माझिफेदालाई एकदम समृद्ध बनाउन मन छ । युरोप अमेरिकाका ग्रामिण भेग जस्तै सुविधायुक्त बनाउन मन थियो र छ पनि । तर हामीले विरोधका लागि विरोध मात्रै भन्दा पनि भएका काम र विकास देख्न सक्नु पर्यो । वडामा कति चाहिँ बजेट पर्छ त्यो पनि सोच्नु पर्यो । वडामा मुस्किलले वार्षिक साँढे २÷३ करोड बजेट आउँछ । कहिले कम आउँछ । यी सबै विकासका लागि आएको बजेट हैन । विकास बजेट योभन्दा धेरै कम पर्न आँउछ । यति पैसाले के माझिफेदामा आज नै सडक कालोपत्रे हुन्छ त ? आजै रेल कुद्छ त ? आजै पानी जहाज चल्छ त ? आजै घरघरमा ग्याँसपाइप जोड्न सकिन्छ त ? हामीले गाँउलाई सुहाँउदो विकासको मोडेल तयार पारेका छौँ । जस्ले गर्दा सहज रुपमा माझिफेदाको मुहार फेरियोस । माझिफेदामा क्रमागत रुपमा आवश्यक्ता पहिचान गरेर प्राथमिकतामा राखेका छौँ । हिजो काकाकुल जनताको लागि पानी महत्वपूर्ण थियो । आज सडक कालोपत्रे गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।

तपाईले माझिफेदालाई सुहाँउदो विकासको मोडेल भन्नुभयो, त्यो कस्तो मोडेल हो बताउन सकिन्छ?

हामी गाँउलाई अहिले नै आज नै सहर जस्तो बनाउछौँ भन्दैनौँ । तर यहिँ नै पूर्वाधारको विकास गरेर युवाहरुलाई गाउँमै रोजगारी श्रृजना गरेर आत्मनिर्भर बनाउनेछौँ । स्थानीय किसानहरुलाई व्यावसायिक बनाउन आगामी कार्यकालबाट विगतमाभन्दा अनुदानमा अत्याधिक वृद्धि गर्ने छौँ । किसानको उत्पादनलाई काठमाडौँ लगायतको बजारमा जोड्न सहयोग गर्ने छौँ। गाँउमै भएका स्थानीय डोको,डालो, भकारी, सिकर्मी ,सुचिकार एवं विश्वकर्मा जस्ता सीपलाई व्यावसायिक बनाएर रोजगारमुलक बनाउन अनुदान र सहयोग गर्ने छौँ । हामी नमुना प्राविधिक विद्यालय स्थापना गरि त्यसमा छात्रवासको समेत व्यवस्था गरेर टाढाबाट आएर विद्यार्थीलाई पढ्दै र कमाउदै गर्ने शिक्षा दिने व्यवस्था गर्दै छौँ । यो हाम्रो निकै महत्वाकांक्षी योजना हो।यस्ले गर्दा अहिले गाँउमा कमाएर सहरमा छोराछोरी पढाउने चलन अन्त्य गरेर गाँउमा कमाएर गाँउमै पढ्ने र अझ विशेष गरि सहरमा रहेका अविभावकहरुको सन्तानलाई पनि गाँउमै ल्याएर पढ्दै कमाउन सक्ने बनाउने छौँ । हाम्रो मुख्य उद्देश्य भनेकै गाँउबाट किशोर किशोरी युवाहरु पलाएन नहोस भन्ने हो ।

तपाईको यत्ती राम्रा योजनाहरु कार्यान्वायन भए त माझिफेदाको मुहार पक्कै फेरिन्थ्यो होला । तर यी योजना कार्यान्वयन गर्नलाई त तपाईले चुनाव जित्न पर्ने हुन्छ । के यो सम्भव छ त ?

माझिफेदामा माओवादीलाई हार्ने छुट छैन र हार्दैन पनि । माझिफेदा माओवादीको लाल किल्ला हो । माओवादीसँग माझिफेदाबासी जनताको भावनात्मक सम्बन्ध छ । हामी विपक्षीले के भन्छ कहाँ कुरा काटेको छ । त्यसलाई वास्ता गर्दैनौँ । हामी जनता माझ हिजो हामीले के के काम गरेका छौँ र भविष्यमा के गर्छौँ भन्ने स्पष्ट योजना सहित गइरहेका छौँ । मलाई विश्वास छ माझिफेदाका जनताले यस्को सहि मूल्याङकन गर्नु हुन्छ । र अहिले माझिफेदामा पार्टी महाधिवेशन पछि एकदम सुदृढ अवस्थामा रहेको छ । त्यसै कारणले आगामी निर्वाचनमा हामी विपक्षी भन्दा कम्तिमा पनि दोब्बर मतले जित्ने मत प्रक्षेपन सहित जित्ने बाटोमा अगाडि बढिरहेका छौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस