काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२, दुबैगैँडामा हायस गाडी सडकबाट करिब २०० मिटर तल खस्दा चालकसहित तीन जनाको सकुशल उद्धार गरिएको छ।
प्रहरीका अनुसार राति करिब २:२५ बजे झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले गाडीमा सवार तीनै जनाको सकुशल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको जनाएको छ।
उद्धार गरिएकामा इलाम नगरपालिका–६ निवासी ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, भुम्लु गाउँपालिका–७ निवासी २६ वर्षीया रिता आपागाईं र उनका ९ वर्षीय छोरा रितिक आपागाईं रहेका छन्।




