अपर सोलु हाइड्रोको आइपीओ खुल्ला

काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आजदेखि आइपीओ खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ खुला गरेको हो । कम्पनीले स्थानीयलाई प्रतिकित्ता १०० अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता सेयर खुला गरेको हो ।
कम्पनीले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस) का बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएकोछ।
साथै एनएमबि बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।