काभ्रे : वैशाख ३० मा हुन गइ रहेको स्थानीय तहको निर्वाचनको लागि जिल्लामा निर्वाचनको तयारीलाई तिब्र पारिएको छ । निर्वाचनको लागि मतपत्र ढुवानी कार्य सुरु भएको छ । त्यस्तै निर्वाचनका लागि खटिने मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामाग्री सम्बन्धित मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।
जिल्लाका १ सय ८९ मतदान स्थलका ३ सय ८१ मतदान केन्द्रमा एक हजार नौ सय २ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा ३ जना स्वयंसेवक मतदान अधिकृतले नै नियुक्त गरी खटाउँछन् ।
निर्वाचनलाई भयरहित र मर्यादित बनाउनका लागि सबै सुरक्षा निकाय परिचालित भइसकेको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले बताइन् । उनका अनुसार, निर्वाचन सुरक्षको लागि ९ सय ७९ नेपाली प्रहरी, ३ सय ९८ शसस्त्र प्रहरी, १६ सय ११ म्यादी प्रहरी र नेपाली सेना परिचालित भएका छन् ।
निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सबै स्थानीय तहमा मोबाइल टिम पनि परिचालन गरिएको छ ।



















