परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाइने

काभ्रे : स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले अरु कागजपत्र देखाएर भोट हाल्न पाउने भएका छन् ।

अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभएको खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

बुधबार प्रेस विज्ञप्तिमार्फत आयोगले मतदाता नामावलीमा नाम भएका सबैले परिचय खुल्ने कागजातका आधारमा मतदान दिन पाउने व्यवस्था मिलाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको छ ।’

परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न पाउने आयोगले विज्ञप्तिमा भनेको छ ।

भोट हाल्न भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा जान सकिनेछ । यसपटकको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार मतदाता छन् । देशभर १ लाख ४५ हजार ११ जना उम्मेद्वार रहेकामा ३५ हजार २ सय २१ जना निर्वाचित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस