स्थानीय तह निर्वाचन : ८० प्रतिशत पालिकामा शुक्रबार राति नै मतगणना थालिने

काठमाडौँ : भोली वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैँछ । निर्वाचनको लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तालिका निर्धारण गरिएको छ ।

मतदानका लागि निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका २१ हजार ९ सय ५५ केन्द्रमा चाहिने सम्पूर्ण सामाग्री पुर्‍याइसकेको छ। निर्वाचन आयोगले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना सुरु गर्न निर्देशन दिइएको जानकारी दिए।

उनले भने, ‘मतदानस्थलबाट मतगणना गर्ने ठाउँमा मतपेटिका आएको एक घण्टाभित्र गणना सुरु गर्न आयोगले निर्देशन दिएको छ। त्यसैअनुसार काम हुन्छ। मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।’

उनका अनुसार देशभरका करिब ८० प्रतिशत स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।

एउटा पालिकाको सबै वडा वा मतदान केन्द्रको मतपेटिका नआएको अवस्थामा गणना गर्न सकिँदैन। कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएमा त्यहाँसमेत मतदान भएर मतपेटिका नआएसम्म अरू केन्द्रको गणना गर्नु नमिल्ने आयोगले जनाएको छ। यसपटक मतगणना स्थलमा सिसिटिभी र तार जालीको व्यवस्था गरिएको छ।

मतदान भएको एक हप्ताभित्रै सबै पालिकाको नजिता सार्वजनिक गर्ने योजना आयोगले बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस